‘संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुन्छ’

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार १०:११

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा रहेको नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् ।

विद्यार्थी लक्षित सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले भने, ‘तपाईहरू जिवनको उर्जाशील उमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन । संसार मेहनतीहरूको हो । तपाईहरूसँग सपना हुनुपर्छ अनि त्यो सपनाले विपनामा मेहनतको मार्गमा डोर्याउनुपर्छ । यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानीबाबू भन्नुपरोस् । तपाई जहाँ भएपनि सँस्कारी बन्नुस ।’

‘हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना रहरहरूको तिलाञ्जली दिएर आफ्ना सन्तानको लागि दिनरात नभनी मेहनत गर्छन्’ उनले भने ।

‘अभिभावकको सपना तुहाउने छुट तपाई विद्यार्थीलाई छैन । मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन’ उनले भने, ‘ मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो । तपाई नानीबाबुहरू कर्मशील हुनुहुन्छ र लक्ष्य हाँसिल गर्न सक्नु हुनेछ ।’

घर बालबालिकाको पहिलो पाठशाला भएको बताउँदै उनले प्रदेश प्रमुख देवकोटाले अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन् भन्दै थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्ने बताए ।