हेटौंडामा ‘किसान हक, हित र सामाजिक सुरक्षा विषयक’ बहस

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार १८:१७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘किसान हक, हित र सामाजिक सुरक्षा विषयक’ बहस कार्यक्रम सम्पन्न भएको छ । बहस कार्यक्रम आइतबार राष्ट्रिय किसान आयोगको आयोजनामा भएको हो ।

कृषि विकास निर्देशनालय हेटौंडाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा बोल्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले किसानको हौसलालाई बढाउनको लागि आगामी आर्थिक वर्षको कार्यक्रममा १४ अर्बको ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याउन लागेको बताए ।

सरकारले दिएका अनुदानको उचित सदुपयोग किसानबाट नभएको भन्दै उनले अनुदान माग मात्र नभई त्यसलाई सदुपयोग गरी कृषिमा आत्मनिर्भर हुन आग्रह गरे ।

मन्त्री श्रेष्ठले प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ मा कृषि क्षेत्रको समग्र विकास र किसानका हक हितको लागि विभिन्न योेजनाहरु निर्माण गरेको बताउँदै प्रदेशका सबै पालिकाहरुमा किसान सूचीकरण र वर्गीकरणको कार्य अगाडि बढाई किसान परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको बताए ।

उत्पादनमा आधारित भएर बैंक तथा वित्तिय संस्थामार्फत कृषकले लिएको कृषि ऋणमा ६ प्रतिशतका दरले ब्याजमा अनुदान उपलब्ध गराउनुका साथै १० अर्ब ऋण प्रवाह गर्ने लक्ष्य लिएकोे पनि उनको भनाई छ । साथै उनले सम्भाव्यताको आधारमा १३ वटै जिल्लालाई पशुपालन, फलफुल र कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी सघन रुपमा कृषिका कार्यक्रमहरु लागू गरिने बताए ।

सो क्रममा किसानहरुले अनुदानको नाममा काम भन्दा कागजलाई प्राथमिकतामा राखेर विभेद गरिएको, किसानसम्म अनुदान नपुगेको, सरकारले माटो परीक्षण केन्द्रको स्थापना नगरेको लगायतका गुनासाहरु गरेका थिए ।

कार्यक्रममा बोल्दै सो मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले सरकारसँग पर्याप्त स्रोत साधन नहुँदा माटो परीक्षण प्रयोगशाला हुँदाहुँदै पनि सबै पालिकालाई समेट्न नसकेको बताए । प्रदेशमा कृषकको संख्या ३ लाख ३१ हजार रहेको र प्रदेश सरकारलाई प्राप्त बजेटका आधारमा यो संख्या धेरै भएको भन्दै उनले राज्यको स्रोत साधन र सामर्थ अनुसार यसको व्यवस्थापनमा लागिरहेको बताए ।

यस्तै, कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यहरु टेक बहादुर बोगटीले तिनै तहका सरकारसँग आयोगको समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याहरु समेटियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य मञ्जु धिमाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकाल, प्रदेश सभा सदस्यहरु गोविन्द लम्साल, मधु सुदन पौडेल, रत्न प्रसाद ढकाल, कृष्ण प्रसाद शर्मा खनाल, सुरेन्द्रराज गोसाई, एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, अखिल नेपाल किसान महासंघ बागमतीका अध्यक्ष एकालाल उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।