पार्टी र कार्यकर्ता विचारबाट चल्नु पर्छः सहमहामन्त्री उपाध्याय
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/congress-e1739105278101.jpg)
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टी र कार्यकर्ता विचारबाट चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडा–१६ स्थित चिसापानीमा आइतबार आयोजना गरेको एक दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेसबाट मात्र समृद्धि सम्भव भएको बताइन् ।
उनले पार्टीलाई चलायमान र गतिशील बनाउन पार्टीका पदाधिकारीहरु उत्तरदायी र जिम्मेवार बन्नुपर्ने भन्दै पार्टी र कार्यकर्ताहरुलाई नागरिकको विकास र जनजीविका सँगजोड्दै अगाडि बढ्नुपर्ने बताइन् । ‘आफू माथि भएको अन्यायका विरुद्धमा सार्वजनिक रुपमा भन्दा पार्टीको आन्तरिक फोरममा आवाज उठाउनु पर्छ ।’, उनले भने, ‘कुनै नेता र व्यक्तिलाई भन्दा कांग्रेस बलियो बनाउने तर्फ हामी लाग्नु पर्छ ।’
उनले विधान भन्दा बाहिर गएर पार्टी चलाउनु भनेको स्वार्थले चलाउनु हो भन्दै लोकतन्त्र र देशको विकासको लागि स्थापना भएको कांग्रेसको विचार नमर्ने बताइन् । कांग्रेस केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन विश्वकर्माले समसामयिक राजनीतिक बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै पार्टीका कार्यकर्ता र नेताले आफूलाई भन्दा पार्टीलाई केन्द्रमा राखेर संगठन निर्माण गर्नुपर्ने बताइन् । पार्टीको संगठन, कार्यकर्ता र नेताको आचरण, विचार र सिद्धान्त लगायतका बारेमा प्रशिक्षण दिनुभएका विश्वकर्माले कार्यकर्ताहरुलाई निराशा छाडेर कांग्रेसको नेतृत्वमा समृद्धि सम्भव छ भन्ने भावनाका साथ काम गर्न आग्रह गरिन् ।
कांग्रेस हेटौँडा उपमहानगर समितिका उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, कांग्रेस नेता आनन्दराम पराजुली, प्रतिनिति सभा क्षेत्र नं. १ का संघीय सभापति दामोदर खनाल र कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले कांग्रेस कार्यकर्ताले पार्टी संगठनमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा मन्तव्य राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा कांग्रेसको हेटौँडा उपमहानगर समितिका पदाधिकारी तथा सदस्य, १९ वटै वटाका सभापति तथा पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।