बालक अपहरण गरी बन्धक बनाउने विदेशी नागरिक पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/arrest.jpg)
काठमाडौं । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका माई होआंग किन्ह लान रहेका छन् ।
उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई अपहरण गरी बन्धक बनाई राखेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, ललितपुर पाटनबाट ४ वर्षीय बालक बिहीबार रातिदेखि हराएको भनी पीडितको आमाले उजुरी दिएपश्चात खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
साथै प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान समेत बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।