तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
काठमाडौं । धादिङमा गएराति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई धादिङको थाक्रे गाउँपालिका–७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोलखाको भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सो दुर्घटनामा परेर अन्य २५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको साइबाबा अस्पताल धार्के धादिङमा, ५ जनाको बाँसबारी न्युरो अस्पताल काठमाडौंमा, १० जनाको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा, ८ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
यस्तै, दुर्घटनामा परेर घाइते भएका बस चालकलाई उपचारको लागि काठमाडौं पठाएको तर सम्पर्क नभएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।