केराको थामबाट नेपाली कागज उत्पादन

तु खबर संवाददाता
२०८१ माघ २८,सोमबार १७:५१

मकवानपुर । पछिल्लो समयमा नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । कसै बाध्येले विदेशीने गरेका छन् त कोही रहले । कयौं युवाहरु त आफुसँग विविध अनुभवको भण्डार भए पनि घरको आर्थिक स्थित र परिस्थितिले गर्दा विदेशीने गरेका छन् ।

त्यस्तै, भयो मकवानपुरका कुबेर तिमलिसनाको अनुभव । तर, सम्भावना देख्न र सदुपयोग गर्न सके जे पनि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् उनी । १२ कक्षासम्म अध्ययन गरेका उनी घरको स्थितिलाई मध्येजनर गर्दै रोजगारीको सिलसिलामा सन् २०११ मा विदेशीए ।

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ निवासी उनी साउदी अरब पुगेका थिए । त्यहाँ ८ वर्ष काम गरेर उनी स्वदेश फर्किए । नेपालमै पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका तिमल्सिनाले काठमाडौंमा बसेर ट्याक्सी किनेर चलाए । उनले ५ वर्ष आफ्नो ट्याकसी चलाए ।

तर, अभागीलाई जे गरे पनि भाग्यले साथ दिँदै भने झै सोही समयमा नेपालमा कोरोना महामारी फैलियो । लकडाउन भयो । त्यसपछि केही राम्रो होला भनेर थालेको ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित बन्यो उनलाई ।

‘नेपालमै पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका नेपाल फर्किएको म केही राम्रो हुने बेलामा कोरोना महामारी फैलियो र लकडाउनमा मेरो ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित भयो’, उनले भने ।

त्यसपश्चात उनले १८ महिने भेटेनरीसम्बन्धी अध्ययन पनि गरे । ट्याक्सीबाट पनि खासै कमाई हुन नसकेपछि उनले बाख्रापालनको व्यवसाय थाले । बिचौलियाको हातबाट बिक्री गर्नुपर्दा उनलाई बाख्रापालनमा पनि चित्त बुझेन । त्यसपश्चात उनलाई गाउँमै बसेर केही उत्पादन गर्नुपर्छ भन्ने लाग्यो ।

उनले युट्युबमा हेर्दै जाँदा केराको थामबाट धागो, कागज, कपडाजस्ता धेरै वस्तु बनाउन सकिने थाहा पाएका थिए । पछिल्लो समय नेपाली कागज बनाउनमा व्यस्त छन् । उनीले युट्युबमा हेरेकै भरमा कागज उत्पादन गर्न सुरु गरेका हुन् । ‘गाउँमा पनि धेरै केराखेती हुन्छ । केरा बेचिसकेपछि हामीले त्यसको बोट काटेर फाल्छौँ तर, यसबाट धेरै कुराहरु बन्ने कसैलाई थाहा नहुँदा सदुपयोग नगरेको देखिन्छ ।’, तिमल्सिनाले भने, ‘युट्युबमा हेरेर मैले थाहा पाएपछि यसलाई सदुपयोग गर्नुपर्छ भनेर उत्पादन गर्न थालेँ ।’

उनले डेढ महिना अघिमात्र ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन गर्न थालेका हुन् । तिमल्सिनाले हालसम्म उद्योगमा ७ लाख लगानी गरिसकेका छन् । छोटो समयमै कागज उत्पादन थालेको उनको नेपाली कागज गढी गाउँपालिकाले ५ हजार पिस खरिद गरिसकेको छ ।
वार्षिक ५० हजारसम्म नेपाली कागज खरिद गर्दै आइरहेको गाउँपालिकाले अबका दिनमा आफ्नै स्थानीयले उत्पादन गरेको कागज खरिद गर्ने बाचा गरेको उनले बताए ।

हालसम्म १ लाख रुपैयाँको कागज बिक्री गरिसकेका छन् भने कागज खरिदका लागि धमाधम अर्डर आइरहेको उनले बताए । पहिलो प्रयासमै कागज उत्पादन गर्न सफल भएपछि यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउनेमा आफल लागि परेको बताए । केराको थामबाट रेशा निकाल्ने र त्यसलाई पकाएर सफा गरेर घाममा सुकाएपछि नेपाली कागज बनाउने गरेको बताए ।

तिमल्सिना केराबाट बनेको कागजलाई ब्राण्ड बनाउने सोच रहेको बताउँछन् । केराबाट बन्ने वाइन, कपडा, चिप्स, धागो, ग्रिन पाउडरलगायत सबै उत्पादन गरेर खेर गएको केराको बोटको महत्व बुझाउन मेशिनसहितको ठूलो उद्योग स्थापना गरेर गाउँपालिकाका १५–२० जनालाई रोजगारी दिने लक्ष्य रहेको उनको भनाई छ ।