स्वास्थ्य बिमाका बिरामीले हेटौंडा अस्पतालमा दैनिक ओपीडी टिकट दर्ता गर्नु नपर्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2022/09/hetauda-hospital-1-e1739245508755.jpg)
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालमा दैनिक रुपमा ओपीडी टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटेको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका बिरामीको जनगुनासोलाई मध्यनजर गर्दै अस्पताल प्रशासनले उक्त व्यवस्था हटाएको हो ।
अस्पतालले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा अबदेखि १ पटक ओपीडीको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फ्लोअप गर्न सकिने व्यवस्था गरिएको उल्लेख छ ।
यो व्यवस्था आजै माघ २९ गतेदेखि नै लागू हुने अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईले जानकारी दिए । उनका अनुसार, दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लागि लाइन नबसी सेवाहरुको विलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको छ ।
यो व्यवस्था बमोजिम ओपीडी जाँच गराएको ७ दिन भित्र सम्बन्धित विभागको डाक्टरसँग सिधै भेट्न सकिने उनको भनाई छ ।