आज स्वस्थानी ब्रतकथा समापन गरिँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/shree-swosthanee.jpg)
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् ।
त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको ब्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने प्रचलन छ ।
ब्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।