फागुन १५ सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/samsad.jpg)
काठमाडौं । संघीय संसद् सचिवालयको आगामी फागुन १५ गतेसम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार भएको छ ।
जसमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूची रहेको छ ।
जसनुसार आगामी फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर लगायतका कार्यक्रम पनि प्रस्तावित छन् ।
संसद् अधिवेशन नरहेका बेला सरकारले गत पुस र माघ महिनामा गरेर विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती सबै अध्यादेश सदनको दुवै सभामा प्रस्तुत भइसकेको छ ।
अध्यादेश अधिवेशन सुरु भएको पहिलो बैठकमा नै प्रस्तुत गर्नुपर्ने र त्यसको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिस्थापन विधेयक ल्याउनका लागि दुवै सदनबाट अध्यादेश स्वीकृत हुनुपर्दछ ।
यसअघि माघ २४ गते दुवै सभामा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने कार्यसूची थियो । अन्तिममा सरकारको आग्रहमा दुवै सभाको कार्यसूचीबाट अध्यादेशसम्बन्धी कार्यक्रम झिकिएको थियो । त्यसयता बसेको दुवै सभामा अध्यादेश अगाडि बढ्न सकेको छैन ।
प्रतिनिधि सभाले १५–१५ दिनको पाक्षिक क्यालेन्डर बनाउँदै आएको छ । यसनुुसार संसद् सचिवालयले फागुन १ गतेदेखि १५ गतेसम्मको क्यालेन्डर प्रस्ताव गरेको हो । क्यालेन्डर अनुसार, फागुन ४ गते, ५ गते, ६ गते, ११ गते, १२ गते र १३ गते प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । ती बैठकमा कार्यसूची अगाडि बढाउने सम्बन्धी कार्यक्रम प्रस्ताव भने गरिएको छैन ।
तर, राजनीतिक सहमति भएमा वा सरकारले अगाडि बढाउन चाहेमा सभामुखले कार्यसूचीमा आवश्यक हेरफेर गरेर अगाडि जान सक्ने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।