बालमैत्री पालिका घोषणा गर्न हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १५:५४

मकवानपुर । भोलि फागुन १ गते हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

भोलि हेटौंडा उपमहानगरपालिलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कार्यक्रम रहेकोले सबै जना सो कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले नगरका संस्थागत एवम् नीजि सबै विद्यालयको पठनपाठन बन्द हुने,  उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाबाट हुने सबै सेवा बन्द हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘ भोलि फागुन १ गते हेटौंडा उपमहानगरपालिका, उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा कार्यरत सबै कर्मचारीहरु हेटौंडा–५, क्याम्पाडाँडाको कार्यक्रममा सहभागी हुने भएकोले उक्त निकायहरुबाट नियमित प्रवाह हुने सेवा र शैक्षिक संस्थाको पठन पाठन समेत सुचारु नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

साथै उपमहानगरपालिकाले यसबाट नगरबासीमा पर्न गएको असुविधाप्रति हेटौंडा उपमहानगरपालिका क्षमाप्रार्थी रहेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषित कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ ।

यसअघि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाको १९ वटै वडा बालमैत्री वडा घोषणा भइसकेका छन् । कार्यक्रमलाई नगरको गौरब, प्रतिष्ठा र शानको विषयको रुपमा लिई यस महान असिभयानलाई सम्भय र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरबासीहरुले आ–आफ्नो तह र तप्काबाट सहभागी भई सहयोग गर्न आग्रह गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मानदा ५२ दशमलव ८ प्रतिशत बालक र ४७ दशमलव ९१ प्रतिशत बालिका रहेका छन् ।

यस उपमहानगरपालिकामा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समितहरु समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।