कागज उद्योगको निरीक्षण गर्न मकवानपुरगढी पुगे उद्योगमन्त्री तामाङ

तु खबर संवाददाता
२०८१ फाल्गुन १,बिहीबार ०७:५७

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकुमाया तामाङले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ स्थित कुबेर तिमल्सिनाको नेपाली हाते कागज उद्योगको निरीक्षण गरेकी छन् ।

बुधबार मन्त्री तामाङले तिमल्सिनाको उद्योग पुगेर केराको थामबाट कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् । उनले कागज उद्योगको प्रवद्र्धन गर्दै प्रदेश सरकारबाट आवश्यक सामग्री र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री तामाङले कागजको निर्माणलाई थप प्रोत्साहन गर्दै नेपाली हाते कागजको प्रयोगलाई बढावा दिनका लागि मन्त्रीस्तरीय बैठकमा यस विषयमा छलफल गर्ने जानकारी दिइन् ।

तिमल्सिनाले युट्युबमार्फत् सिकेर केराको थामबाट कागज उत्पादन गर्न थालेका छन् । डेढ महिनाअघि ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन थालेका तिमल्सिनाले हालसम्म ७ लाख लगानी गरिसकेका छन् र १ लाखको कागज बिक्री पनि गरिसकेका छन् ।