लागूऔषधसहित हेटौंडाबाट चार जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, ड्राईभरडाँडास्थित सडकखण्डबाट गएराति प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा–८ बस्ने वर्ष २३ को निखिल तिमल्सिना, वर्ष २८ को भिमसेन पाण्डे, हेटौंडा–७ बस्ने वर्ष २७ को मन्जित गौतम र हेटौंडा–५ बस्ने वर्ष २० को साकार ढुङ्गेल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९१० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, विंरगजबाट हेटौंडातर्फ आउँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ र बा.प्र. ०३–००५ प ९६६६ नं. को मोटरसाइकललाई रोकी चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा निखिलको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि चारै जना मिलि ल्याइएको बताइएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।