मकवानपुरको चौथो बालमैत्री पालिका घोषित भयो हेटौंडा
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/balmaitri-1-e1739447702109.jpg)
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बालमैत्री पालिका घोषित भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा उपमहानगरपालिकालाई ‘निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषित गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका जिल्लाको चौथो बालमैत्री पालिका घोषित भएको हो । यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् ।
बालमैत्री घोषित कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमार लामाको सभाध्यक्षता एवम् उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको हो ।
उपप्रधानमन्त्री सिंहले ताम्रपत्र अनावरण गर्दै उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन् ।
सो क्रममा बोल्दै समाजको उत्थान गर्न र स्थानीय तहमा सुशासन ल्याउन उपमहानगरपालिकाको नयाँ सोच र चिन्तनका साथ अघि बढ्नुपर्ने बताए ।
उनले बालबालिकाहरुको चौतर्फी विकासको लागि उनीहरुको मनोविज्ञानलाई भावनात्मक रुपले अघि बढाउन विद्यालयहरुले गुणात्समक शिक्षाको साथै अनुशासित एवम् प्रभावकारी ढंगबाट समाजमा उत्थान गर्ने कार्यमा सरिक हुन प्रेरणा जगाउनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले हेटौंडा उपमहानगरपालिकालाई आगामी केही महिनाभित्रै संघीय सरकारले स्थानीय निकायको मापदण्ड अनुसार महापालिकामा रुपान्तरण गर्नेतर्फ प्रतिबद्ध भएको जानकारी गराए ।
उनले स्थानीय निकायले शहरलाई आधुनिकरण गर्दै नगर क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासलाई गुणस्तरीय सेवा प्रदान गरी सर्वसाधारण नागरिहरुलाई छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ जनप्रतिनिधि इमान्दारी हुनुपर्ने बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश कार्यबहाक मुख्यमन्त्री एवम् कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लामा बहुवर्षिय योजना लगायत दीगो विकासको लागि स्थानीय ११९ तहलाई विभिन्न योजना, बजेट, प्राविधिकहरु उपलब्ध गराइएको बताए ।
उनले बालबालिकाहरुको गुणात्मक शिक्षा प्रदान गरी सानै उमेरदेखि उनीहरुलाई स्वाबलम्बी कर्तव्य निष्ठ र देशप्रति आफ्नो जिम्मेवारीबोध गर्नेतर्फ प्रेरणा जोगाउन सकेमा मात्र सबै क्षेत्रमा सुशासन कायम गर्न सक्ने दृढता व्यक्त गरे ।
यस्तै, कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दीपकबहादुर सिंहले हेटौंडा उपमहानगरपालिकाले घोषणा गरिएको बालमैत्री शासनयुक्त पालिकालाई दीगो रुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित पदाधिकारी इमानदारीपूर्वक क्रियाशील हुनुपर्ने उल्लेख गरे । उनले बालबालिकाहरुलाई उनीहरुको रुची अनुसार शिक्षा लगायत प्राविधिक पक्षमा अध्ययन गर्ने वातावरण बनाउन सकेमा मात्रै लक्ष्य पूरा गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका अध्यक्ष इन्द्रबहादुर बानियाँ प्रेमबहादुर पुलामी, एकलाल श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री श्रेष्ठले हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित विभिन्न टोल विकास समिति, शैक्षिक संस्थालाई प्रमाणपत्र वितरण गरेका थिए ।
बालमैत्री घोषित गर्नुअघि आजै बिहान हेटौंडाको बुद्धचोकबाट बालबालिकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् ।
यस उपमहानगरपालिकामा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समितहरु समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।