आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ फाल्गुन २,शुक्रबार ०८:५४
file photo

मकवानपुर । आज विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने यो दिवस आज मनाइने भएको हो ।

नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमी–प्रेमीकाले एक–अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रेमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्ने गरिन्छ ।

युवा पुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरिन्छ ।

भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने प्रचलन रहेको छ ।

भ्यालेन्टाइन डे को सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो ।

सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर, रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।