अब महिनाको दुई पटक मात्रै सरुवा हुने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको छ । दैनिक रूपमा हुने कर्मचारी सरुवाले प्रशासनिक अस्थिरता बढ्दै गएपछि प्रशासन मन्त्रालयले सरुवा प्रणाली बदलेको हो ।
कर्मचारी सरुवा प्रणालीलाई छिटो, छरितो व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले एक महिनामा दुई पटक मात्रै सरुवा गर्ने प्रणाली थालिएको हो । मन्त्रालयका अनुसार, अब १५ दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरुवा गर्न थालेको हो ।
यो प्रणाली गत माघ महिनादेखि लागू गरिएको हो । यो प्रणाली लागू भएसँगै मन्त्री र सचिवको कार्यकक्ष, कर्मचारी प्रशासन महाशाखा र शाखामा भिडभाडसमेत कम हुँदै गएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव रविलाल पन्थले दिनदिनै कर्मचारी सरुवामा अल्झिँदा संघीयतासम्बन्धी काम सुस्त बन्दै गएकाले यस्तो प्रणाली लागू गरेको बताए । उनका अनुसार, गत माघ महिनामा पनि अत्यावश्यक भएका कर्मचारीको दुई पटक मात्र सरुवा गरेको छ । दुई पटक गरी ३६ जना कर्मचारीको मात्र सरुवा गरेको गरिसकेको छ ।
अत्यावश्यकबाहेक सरुवा प्रक्रियाको निर्णय महिनाको १ देखि ३ गते र १५ देखि १८ गतेभित्रमा हुनेछ । यो व्यवस्थाले कर्मचारी सरुवा प्रणालीमा देखिएको अन्योल र असन्तुष्टिलाई न्यूनीकरण गर्न केही हदसम्म भए पनि सहयोग पुगेको जनाइएको छ ।