निःशुल्क कानूनी सहायता अधिकृतको व्यवस्था
![](https://www.tukhabar.com/wp-content/uploads/2024/07/baideshik_rojgar_bibhag.jpg)
काठमाडौं । वैदेशिक रोजगार विभागले निःशुल्क कानूनी सहायता तथा सहजीकरणको व्यवस्था गरेको छ । विभागले त्यसको लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको व्यवस्था गरेको हो ।
विभागले जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भएर आउने वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीको दुरत सुनुवाइका लागि निःशुल्क कानूनी सहायता अधिकृतको व्यवस्था गरेको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
जिल्लाका आधारलाई ‘फास्ट ट्र्याक’ मा कानूनी सहायता तथा सहजीकरण गर्ने गरी सहायता कक्षको व्यवस्था गरी कानुनी सहायता अधिकृतलाई फोकल पर्सनका रूपमा परिचालन गरिएको उनले बताए ।
साथै मुद्दा शाखाबाट उक्त कक्षमा सिफारिस हुने उजुरीमा सोही बमोजिम समन्वय तथा सहकार्य गर्ने गरी प्रदेशगत रूपमा कानूनी सहायता अधिकृत तोकिएको उनले बताए ।
उनका अनुसार, कोशी र बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयबाट आएका उजुरी हेर्ने गरी एक जना फोकल पर्सन तोकिएको छ भने लुम्बिनी सुदूरपश्चिम र कर्णाली प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयका उजुरी हुने गरी एक जना फोकल पर्सन तोकिएको छ ।
यसैगरी, मधेश र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयका उजुरी हेर्ने गरी छुट्टै एक जना फोकल पर्सन तोकिएको छ ।