माघ ९ गतेदेखि जारी खेलकुद महोत्सवको उद्घाटन
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/khelkud4-e1739532383224.jpg)
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा गत माघ ९ गतेदेखि सुरु भएको दोश्रो खेलकुद महोत्सव– २०८१ को उद्घाटन गरिएको छ ।
खेल महोत्सवको शुक्रबार हेटौंडा–४, स्थित हुप्रचौरमा बागमती प्रदेश सभा सदस्य एवम् प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उनले विद्यालय तहबाटै विद्यार्थीहरुमा खेल भावनको विकास गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रको उचित व्यवस्थापन र विकास गर्न सके भावी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने उनले बताए ।
यस्तै, कार्यक्रममा बोल्दै हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलले ठूला भौतिक संरचना मात्रले विकासलाई पूर्णता दिन नसकिने उल्लेख गरे । उनले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु आजको आवश्यकता रहेको बताए ।
सो अवसरमा खेल व्यवस्थापन गर्ने विद्यालयहरुलाई खेल सामग्री समेत हस्तान्तरण गरिएको थियो ।
आधुनिक राष्ट्रिय माविले भलिबल, भुटनदेवी माविले क्रिकेट र नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिताको व्यवस्थापन गरेको हो ।
कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, उपमहानगरपालिका पूर्व नगर प्रमुख हरिबहादुर महत, वडा–५ का वडा अध्यक्ष शुशिल घिमिरे, वडा–१० का वडाध्यक्ष फूर्वा दोर्जे लामालगायतको सहभागिता रहेको थियो ।
उद्धाटन पश्चात् वडा नम्वर ४ ले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।