हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई घाइते
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, हेटौंडाबाट बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नं. को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नं. को अटोलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिँदा अटोमा सवार तीन जना घाइते भएका थिए ।
घाइतेमध्ये मनहरी गाउँपालिका वडा नम्बर ६, खएरघारी बस्ने वर्ष ३५ कि पुजा बम्जनको उपचारको क्रममा मृत्यु भएको हो । उनको सीएमसी चुरेहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
उक्त दुर्घटनामा परेर अटो चालक मकवानपुरको हेटौंडा-१९, बासघारी बस्ने वर्ष २५ को राजु थिङ र अटोमा सवार सोही ठाउँ बस्ने वर्ष ११ को अमृत घिसिङ घाइते भएका छन् । उनीहरु दुबै जनाको सीएमसी चुरेहिलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
प्रहरीले अटो, ट्रक र ट्रक चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर २, पिप्ले बस्ने वर्ष ४८ को कान्छा राईलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।