तु खबरकर्मी थिङ सम्मानित

तु खबर संवाददाता
२०८१ फाल्गुन ३,शनिबार ११:५१

मकवानपुर । तु खबरकर्मी सन्देश थिङ सम्मानित भएका छन् । मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा आयोजित साँस्कृति कार्यक्रममा थिङ नगदसहित सम्मानित भएका हुन् ।

वडा नम्वर २ को विकास तथा तामाङ समुदायको भाषा सँस्कृतिलाई जर्गेणा गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै थिङलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

कार्यक्रम खेलकुद विकास समिति मनहरी २ को आयोजना, मनहरी गाउँपालिकाको मुख्य सहयोगी र मनहरी २ को संरक्षक तथा सहयोगमा भएको हो । ल्होछार कार्यक्रममा हजारौँ मानिसले अवलोकन गरेका थिए ।

कार्यक्रम खेलकुद विकास समिति मनहरी–२ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य सुकराम मोक्तानको सभाध्यक्षता एवम् बागमती प्रदेशको पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा, रबिन कुमार चेपाङ लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

साथै सो क्रममा तामाङ मौलिक पहिचान झल्किने तामाङ सेलो नृत्य (ग्रुप) प्रतियोगिता पनि भएको थियो । जसमा आस्था कला केन्द्र मनहरी–७ प्रथम, आफ्सर ग्रुप मनहरी–२ दोस्रो र मेल्टोल मनहरी–२ तेस्रो भएको थियो । प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः १०, ७ र ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । नृत्य प्रतियोगिता आरिराङ कोरियन भाषा तालिम तथा कन्सन्टेन्सी प्रालिको प्रायोजकमा भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा धर्म गुरु खेन्पो सर्बजित गोङ्बा, नेपाल तामाङ घेदुङका पूर्व महासचिव काजीमान थिङलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।