पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन पड्कियो, अर्थमन्त्री र मेयर घाइते

तु खबर संवाददाता
२०८१ फाल्गुन ३,शनिबार १५:२१

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको छ । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको बुझिइएको छ ।

बेलुन पड्किएर आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर उनीहरु घाइते भएको स्रोतले जनाएको छ ।

घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । उनीहरुलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पतालमा उपचारको लागि पठाइएको थियो ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको जनाइएको छ ।

पोखरा महानगरले सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको हो ।