अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी

तु खबर संवाददाता
२०८१ फाल्गुन ४,आईतवार ०९:०९
file-photo

काठमाडौं । सरकारले करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा डेढ लाख सवारी लाइसेन्स छापेर वितरण गरेको सरकारले अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको जनाएको हो ।

सरकारको यातायात व्यवस्था विभागले आर्थिक वर्षको गत साउन महिनादेखि माघ मसान्तसम्ममा एक लाख ६९ हजार ४ सय ३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको हो । हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार, यातायात व्यवस्था विभागले २०८० असारदेखि सवारी लाइसेन्स छपाइ बन्द गरेको थियो । करिब सात महिना बन्द भएपछि ६ लाख थान लाइसेन्स छाप्ने कार्ड आयात भएको थियो । उक्त अवधिमा छाप्नुपर्ने १४ लाख थान सवारी लाइसेन्स थुप्रिसकेका थिए ।

यसका लागि थप ६ लाख थान कार्ड तीन महिनाभित्र आयात हुने र पुनः १५ लाख थान कार्ड र एउटा छपाइ मेसिन खरिदका लागि टेन्डर गरिएको उनले बताए ।

यही फागुन महिनाभित्र संसद्को विषयगत समितिको बैठक बस्ने र उक्त बैठकबाट प्रदेशका मन्त्रालयलाई जिम्मा दिने तयारी भइरहेको उनले बताए ।