हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा

तु खबर संवाददाता
२०८१ फाल्गुन ४,आईतवार ०९:३८
file-photo

मकवानपुर । पछिल्लो समय हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक सङ्कट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको हो ।

हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने भनिएपनि सो कार्य हालसम्म सुरु हुन सकेको छैन ।

सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मतको मात्रै एउटा पाटो नभएको बताउँदै आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता परेको बताए ।

उनले उत्पादन कार्य ठप्प भएपनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकोले आर्थिक खर्च बढ्दै गएको बताए ।

उनका अनुसार, अहिले उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको पनि समस्या रहेको छ ।

सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको र विसं २०४३ देखि सिमेन्ट उत्पादन कार्य सुरु गरेको थियो ।