जलन उपचार केन्द्र स्थापना गर्न सांसद् कंसाकारको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य (सांसद्) विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।सांसद कंसारकारले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जलन उपचार केन्द्र स्थापना गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट पीडित हुने गरेको भन्दै उनीहरुको लागि सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिइन् । उनले आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपत्कालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने बताइन् ।
यस्तै, उनले सदनमा जलनसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको भन्दै जलन विधेयक पारित गर्न समेत आग्रह गरिन् ।
उनले भनिन्, ‘जलन जसलाई जतिबेला पनि हुन सक्छ । यसले ठूलो–सानो मान्छे भनदैन । यसले जसको पनि ज्यान जाने र अपाङ्ग हुन सक्छ । यसलाई मध्येनजर गर्दै मैले करिब ७ महिनाअघि जनलसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको थियो । यसलाई पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु चाहान्छु ।’
शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका छन् । सांसद् कंसाकारले कीर्तिपुर अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्यलामको कामना गरेकी छन् ।
साथै उनले काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्वली अर्पण गरेकी छन् ।