१२३ स्थानीय तहलाई नमुना पालिकामा विकास गर्ने तयारीमा माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी गरेको छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले जितेको पालिका प्रमुख/अध्यक्ष १२३ र उपप्रमुख/उपाध्यक्ष १३० स्थानमा नमुनाको रुपमा विकास गर्ने तयारी गरिएको हो ।
ती स्थानीय तहका जनतासँग सुख–दुःखसँग प्रत्यक्ष जोडिने हुँदा आफूले जितेको पालिकाका जनताका पिरमर्का बुझ्ने, गुनासा सुन्ने, सेवा सुविधा चुस्त दुरुस्त बनाउने र समग्रमा नमुना पालिका बनाउने उद्देश्य रहेको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।
भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले यही फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान गरेको छ । केन्द्रीय कार्यालयको व्यवस्थापनमा हुन लागिएको अभिमुखीकरण भेलामा प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षसहित सम्बन्धित पालिका अध्यक्षहरू सहभागी हुने उनले बताए ।