हेटौंडा–१७ का वडाध्यक्ष सत्यालद्वारा महायज्ञको अवलोकन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा हाल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको हेटौंडा–१७ का वडाध्यक्ष उद्धव सत्यालले अवलोकन गरेका छन् ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि.ले संयुक्त रुपमा आयोजित महायज्ञको वडाध्यक्ष सत्यालले आज स्थलगत अवलोकन गरेका हुन् ।
वडाध्यक्ष सत्यालले महायज्ञको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । उनले कार्यक्रमको उद्देश्य पूरा गर्न सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले वडाध्यक्ष सत्याल, अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष शिवप्रसाद चौलागाईं र हेटौंडा–१७ निवासी समाजसेवी तथा युवा व्यवसायी रमेश श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको उक्त महायज्ञ यही फागुन ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
महायज्ञमा पण्डित श्री बद्रीविशाल शास्ती र पण्डित श्री दिनेश काफ्ले शास्त्री, उपवाचक अनमोल धितालले कथा वाचन गरिरहेका छन् ।
सो महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
गत फागुन ३० गतेदेखि सुरु भएको महायज्ञको बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता एवम् पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्य (क्याम्पस प्रमुख) प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा उद्घाटन गरिएको थियो ।