बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौं । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि ल्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको बताए । विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको उनले बताए ।
उनका अनुसार, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’ सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।
सरकारले गत मङ्सिर १ गतेबाट लागू हुने गरी चार वटा अस्पतालबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ ।
उक्त औषधिले भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।
नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखापर्ने गरेको पाइएको छ ।