स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको अवैध रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटपसहित तीन जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् ।
उनीहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थानसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।