पशु सेवा मकवानपुद्वारा २५ वटा गोरु र ट्रक नियन्त्रण

मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले २५ वटा गोरु र ट्रक नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने बाराको पथलैयाबाट आइतबार २५ वटा गोरु र ट्रक नियन्त्रणमा लिएको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट गर्ने प्रयास असफल भएपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको बताए ।
प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरुसहितको ट्रक नियन्त्रणमा लिन नसकिएको बताए । उनका अनुसार, सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
छानविनका क्रममा सो गोरुहरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र सो पश्चात अर्को ट्रकमा हालेर बंगलादेश पठाउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले जानकारी दिए ।
सो ट्रकले हेटौंडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क बापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रति गोटा २ सय रुपैयाँ निर्धारण गरेको छ ।