मकवानपुरमा ८१.४४ प्रतिशत राजस्व संकलन

मकवानपुर । मकवानपुरमा पछिल्लो ७ महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आथिएक वर्षको २०८१–०८२ को गत साउनदेखि माघ महिनाको मसान्तसम्मको अवधिमा सो रकमको राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको २०८१–०८२ को सात महिनाको अवधिमा चार अर्ब ५५ करोड ४२ लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा सो रकमको मात्रै राजस्व संकलन भएको कार्यालय प्रमुख प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जनाएको छ ।
सो अवधिमा अन्तशुल्कतर्फ रू दुई अर्ब १२ कारेड १६ लाख २९ हजार, आयकरतर्फ ६५ करोड ५८ लाख ८१ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ५० करोड ४७ लाख ९३ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ, ब्याजकरतर्फ पाँच करोड ९१ लाख तीन हजार रुपैयाँ र बहालकरतर्फ एक करोड १० लाख छ हजार रुपैयाँ राजस्व सङ्कलन भएको पाइएको छ ।
यस्तै, चालु आव २०८१–०८२ मा रू आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, ‘विथहोल्ड’तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।