हेटौंडामा भोलिदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार १७:५४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि (फागुन ६ गते) देखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । भोलिदेखि फागुन १८ गतेसम्म हुने महोत्सव हेटौंडा–१०, टिसिएन चौरमा हुने संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए ।

महोत्सवको तयारीको अन्तिम आजसम्म स्टल निर्माण, स्टेज निर्माण, टिकट घरलगायतको काम धमाधम भइरहेको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघका अध्यक्ष कँडेलले बताए । उद्घाटन अघि बिहान साढे १० बजे हेटौंडा–४ को हुप्रचौरको दक्षिणमा जम्मा भएर पारिजातपथ, बुद्धचोक, टिसिएन चौर पुगेर शोभायात्रा समापन हुनेछ ।

यस्तै, महोत्सवको दोश्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, स्थानीय कलाकारहरुले प्रस्तुती र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा करिब ३०० वटा स्टलहरु रहनेछ । मेलामा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरु, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामाग्री, महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरुको बिक्री–वितरणमा राखिने संघका अध्यक्ष कँडेलले बताए ।

साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवम् बिकी बाल उद्यानको व्यवस्था नविनतम लञ्च भएका इभी सवारी साधानहरु पनि बिक्रीका लागि राखिनेछ ।

महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह, सुझाव समेत संकलन गरिनेछ । महोत्सवको प्रवेश शुल्क ७५ रुपैंया र विद्यार्थीको लागि ५० रुपैंया तोकिएको आयोजकले जनाएको छ ।