एकै महिनामा साढे चार हजार सवारी दुर्घटना, ११९ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ फाल्गुन ५,सोमबार १७:४९

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा साढे चार हजारभन्दा बढी सवारी दुर्घटना भएको छ । गत माघ महिनामा चार हजार ५३५ सवारी साधन दुर्घटना भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सो अवधिमा दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए ।

दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको छ । सो अवधिमा कुल दुर्घटनामा परेका सवारी साधनमध्ये मोटरसाइकल मात्रै दुई हजार ४७४ वटा अर्थात ५४ दशमलव ५५ प्रतिशत दुर्घटना भएको छ ।

यसैगरी, जिप, कार र भ्यान, माइक्रो २१ दशमलव २१ प्रतिशत दुर्घटना भएको छ । अन्यमा बस पाँच दशमल ५३, ट्रक, ट्याङ्कर छ दशमलव दुई, ट्याक्टर दुई दशमलव ३६ प्रतिशत र टेम्पो पाँच दशमलव १८ प्रतिशत रहेका छन् ।

अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटना भएको पाइएको छ । सो अवधिमा भएको सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १९९ रहेको छ । जसमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् ।

त्यस्तै, ती दुर्घटनामा परेर ५६० जना गम्भीर घाइते भएका छन् भने तीन हजार ३५१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।