एक अर्ब ६४ करोडको अनलाइन जुवा खेलाउने पक्राउ

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ बाट अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घर भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ जना भारतीयलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा क्रमशः अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद नफिस, गुल्फाम खान, मोहम्मद वासिम, रियाज अहमद, मोहम्मद सानवाज, जमालउद्दिन सेख, मोहम्मद हमिद रजा, सुभाष चौधरी, मोहम्मद ओवास, अनिश कुमार, आलम सेख, मसली उद्दिन सेख, मोहम्मद नदिम, मोहम्मद ईमरान, मनीष कुमार, मोहम्मद हेदायत, मोहम्मद जनसार, मोहम्मद बिलाल, मोहम्मद असिम, मोहम्मद सर्फराज र मोहम्मद दानिस रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो । उनीहरुले एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार तीन सय ४० रुपियाँ बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
यसैगरी, उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्याप्टप २१ थान, विभिन्न कम्पनीका मोबाइल ३८ थान, वल्र्व लिङ्कको राउटर तीन थान र सट्टेबाजी जुवासम्बन्धी हिसाब किताब भएको कापी र डायरी दुई थान बराबद गरेको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएका छ ।