‘देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको छ’

मकवानपुर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाट गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको बताएका हुन् ।
उनले समृद्धि र सुशासनको यात्रामा मुलुकलाई अगाडि बढाउन वर्तमान सत्ता समीकरण बनेको बताए । संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको उनले बताए ।
निजी क्षेत्रलाई व्यवसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको उनले दाबी गरे । गृहमन्त्री लेखकले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीहरुको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको उल्लेख गरे ।
निर्माण व्यवसायीहरुलाई आफ्नो काममा लगनशील भएर लाग्न आग्रह गरे । गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।