बागमती प्रदेश प्रमुख देवाकोटाद्वारा प्रजातन्त्र दिवसको शुभकामना
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/deepak.jpg)
मकवानपुर । बागमती प्रदेश प्रमख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
आज (बुधबार) राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश प्रमुख देवकोटाले देश तथा विदेशमा रहेकाहरुलाई सम्पूणलाई शुभकामना दिएका हुन् ।
‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ,‘स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उनीहरूप्रती उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘निरंकुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।’
आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न उनले आग्रह गरे ।
आ–आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख देवकोटाले सन्देश मार्फत् बताएका छन् । ‘हामीले जुटेर नै राजनैतिक फड्को मारेका छौंं अब फेरि जुटेर हामीले मुलुकमा आर्थिक समृद्धि भित्र्याउनु छ ।’
विश्वमा भएका द्रुतगतिका परिवर्तनको लहर र नेपाली जनताको अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुबाहेक अर्को कुनै विकल्प नभएको उनले बताएका छन् ।
स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले थप प्रेरणा र हौसला दिने विश्वास देवकोटाले लिएको सन्देशमा उल्लेख गरेका छन् ।