आज नवौँ निर्वाचन दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार ०९:४९

काठमाडौं । बुधबार (आज) नवौँ निर्वाचन दिवस मनाइँदै छ । ‘निर्वाचनको प्रभावकारिताः आम नागरिकको सहभागिता’ नारासहित आज निर्वाच्न दिवस मनाइने भएको हो ।

नेपालमा वि.सं. २०१५ फागुन ७ गते आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आएको हो ।

सो अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन सङ्कल्पित रहेको बताएका छन् ।

उनले आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारसमेतबाट नागरिक सहभागिता अभिवृद्धिमार्फत निर्वाचन प्रणालीका चुनौती सम्बोधन गर्न आयोग क्रियाशील रहेको उल्लेख गरे ।