अवैध लागूऔषधसहित २० जना पक्राउ

तु खबर संवाददाता
२०८१ फाल्गुन ७,बुधबार १५:५६

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मोरङ, कैलाली, सिराहा, बर्दिया, बाँके, दाङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५७ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीको ईटहरी उपमहानगरपालिका–३ पुरान चोक घर भई हाल काठमाडौं महानगरपालिका–१६ बसन्तनगर बस्ने ४० वर्षीय दिपक राय समेत २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

उक्त होटलमा अवैध लागूऔषध खरीद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका–७ बस्ने २८ वर्षीय संजिव जिमि र २४ वर्षीय अभिषेक तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडि सडक छेउबाट अवैध लागूऔषध ब्राउनसुगर ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश २ किलो १ सय ७५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्युँ गाउँपालिका–६ बस्ने २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–८ नवदुर्गा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय भक्त राज जोशी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका–६, लालपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय करण नेपाली र २४ वर्षीय बाजी आउजी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका–१७ कालिन्चोक चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–१ बस्ने ४३ वर्षीय सत्यन्द्र पंजियार र मिर्चैया नगरपालिका–६ बस्ने २० वर्षीय सरोज कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय माडर सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ४३३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय २० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका–१ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, बाँकेको डुडुवा गाउँपालिका–५ कम्दी बालापुर बस्ने ३७ वर्षीय राम चरण बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ७ सय ६० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

दाङको घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय १० मिलिग्रामसहित बुधबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१५ डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका–७ कुमाल गाउँ घर भएका २६ वर्षीय सुवास विक, उनकै श्रीमती २६ वर्षीया सुनिता घर्ती र सोही उपमहानगरपालिका–१४ भेटनरी टोल बस्ने २४ वर्षीया सोनु विक रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ५० मिलिग्रामसहित ईटहरी उपमहानगरपालिका–४ मनकामना टोल बस्ने २७ वर्षीय सुरज कुमार ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।