बागमती सरकारः यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु

काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको छ । भौतिक रुपमा २५ लाखको सङ्ख्यामा रहेको फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको यातायात व्यवस्था कार्यालय, गुर्जुधाराले जनाएको छ ।
सो कार्यालयका प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले सो काम सुरु गरेको जानकारी दिए ।
विद्युतीय अभिलेख सुरु भएसँगै भौतिक रुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले बताए । यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम सुरु भएको उनको भनाई छ ।
कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताए ।
सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको भन्दै उनले जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनिकै हुने भएकाले सरकारी बाँकीसरह असुल गर्न सकिने बताए ।