अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा लगाइएको महायज्ञ समापन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समापन गरिएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा गत माघ ३० गतेबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन गरिएको हो ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि.ले संयुक्त रुपमा महायज्ञको आयोजना गरेको हो ।
महायज्ञको समापन बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले समापन गरेका हुन् । उनले धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सद्भाव र भाईचाराको सम्बन्ध बढाउन ठूलो सहयोग पुर्याइरहेको बताए । उनले सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न आम नेपाली नागरिकहरुलाई आग्रह गरे ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको मूल समारोह समितिका संयोजक कृष्णदेव भण्डारीले बताए ।
महायज्ञमा पण्डित श्री बद्रीविशाल शास्ती र पण्डित श्री दिनेश काफ्ले शास्त्री, उपवाचक अनमोल धितालले कथा वाचन गरेका थिए ।
महायज्ञबाट करिब १३ लाख रुपैयाँ सङ्कलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक भण्डारीले बताए ।
महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महायज्ञको उद्घाटन कार्यक्रम बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता एवम् पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्य (क्याम्पस प्रमुख) प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा भएको थियो ।