वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार, आर्थिक वर्ष २०८०–०८१ को तुलनामा चालु आव २०८१–०८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १४ दशमलव ७५ प्रतिशतले बढेको हो ।
गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर विदेशिएको हो । त्यो संख्या गत आवको तुलनामा चालु आवमा ६८ हजार ६९६ जनाले बढी हो ।
गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जाने बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको विभागका निर्देशक एवम् सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
चालु आव २०८१–८२ को मङ्सिरमा सबैभन्दा बढी (८४ हजारभन्दा बढी) ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मङ्सिरमा ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएकामा सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
यस्तै, माघमा ७२ हजार ४४१, कात्तिकमा ७० हजार ९९०, पुसमा ६७ हजार १५३, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।