नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय


काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । आगामी चैत २३ गते शनिवार निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।
फागुन १५ गते बिहीबार मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै, मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १८ गतेको समय तोकिएको छ ।मतदाताको अन्तिम नामावली फागुन २० गते प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
यसैगरी उम्मेदवारका लागि दरखास्तको मिति फागुन २२ गते बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको छ । अध्यक्ष पदका लागि ६० हजार रुपैयाँ, उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, महासचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ तथा सदस्यहरूका लागि ३० हजार रुपैयाँ दाखिला शुल्क तोकिएको छ ।
यसैगरी, उच्च अदालत पाटन, हेटौंडा इजलासको निर्वाचन यही फागुन १७ गतेलाई निर्धारण गरिएको छ । नयाँ कार्यसमिति चयन गर्नका लागि अधिवेशन तोकिएको उच्च अदालत पाटन, हेटौंडा इजलास बार एसोसियसनले जनाएको छ ।