एपीएफएसडी बैठक थाइल्याण्डमा: सहयोग बढाउन नेपालको आग्रह

रमेश फुल्लेल । थाइल्याण्ड
२०८१ फाल्गुन १३,मंगलवार १८:४१
थाइल्याण्डमा जारी एपीएफएसडी बैठक । फोटो : दीपेन्द्र ढुंगाना

थाइल्याण्ड (बैंकक) ।

थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपीएफएसडी) को १२ औँ वार्षिक बैठकमा नेपालले दिगो विकास लक्ष्य  प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राख्दै नेपालले झेल्दै आएका चुनौती र हालसम्म प्राप्त गरेका उपलब्धी बारे जानकारी गराएका छन् । उनले नेपालले सन् २०२२ सम्म ४१.७ प्रतिशत एसडीजी प्रगति हासिल गरिसकेको उल्लेख गर्दै गरिबी निवारण, स्वास्थ्य, शिक्षा तथा वातावरणीय स्थायित्वमा सकारात्मक उपलब्धि हासिल गरेको बताए ।

नेपालले जलवायु परिवर्तन, आपूर्ति, सङ्घीय प्रणालीमा रूपान्तरण लगायतका बहु आयामिक चुनौतीहरूको सामना गरिरहेको छ । अधिकारीले भने, नेपालले आफ्नो १६औँ योजना मार्फत सुशासन, सामाजिक न्याय, तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ ।

सरकारले एसडीजी लक्ष्यहरू प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायलाई वित्तीय तथा प्राविधिक सहयोग बढाउन आह्वान गरेको छ । उनले भविष्यका लागि सम्झौता र एसडीजी शिखर सम्मेलनको राजनीतिक घोषणापत्र अनुरूप विकासोन्मुख देशहरूलाई थप वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए ।