दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक २३ बिलियन अमेरिकी डलर आवश्यक : नेपाल

रमेश फुल्लेल /थाइल्याण्ड
२०८१ फाल्गुन १४,बुधबार १७:५३
तस्बिर : दीपेन्द्र ढुंगाना/बैंकक

बैंकक । नेपालमा दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि वार्षिक रुपमा २३ बिलियन अमेरिकी डलर परिचालन गर्नुपर्ने तथ्य सार्वजनिक भएको छ ।

थाइल्यान्डको बैंककमा जारी एसिया प्रशान्त क्षेत्रीय दिगो विकास मञ्चको दोस्रो दिन ‘स्वैच्छिक राष्ट्रिय समीक्षामार्फत दिगो विकास एजेन्डाको द्रुत कार्यान्वयन विषयक छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयनमा २३ बिलियन अमेरिकी डलर परिचालन गर्नुपर्ने आवश्यकता रहेको तथ्य सार्वजनिक गरेका हन् ।

मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उपाध्यक्ष प्रा.डा. अधिकारीले दिगो विकास लक्ष्यको कार्यान्वयनमा स्वेच्छिक राष्ट्रिय समीक्षाको भूमिकाको सम्बन्धमा नेपालको अनुभव आदानप्रदान गरेका थिए ।

उनले नेपालमा दिगो विकास लक्ष्यमा नेपालले प्राप्त गरेको प्रगतिबारे जानकारी गराउँदै उनले दिगो विकासका लक्ष्यहरूमा प्रगति हासिल गर्न नेपालमा निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज लगायतले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

नेपालले सन् २०२४ को जुलाईमा संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को आयोजना भएको उच्च स्तरीय राजनीतिक मञ्चमा तेस्रो स्वेच्छिक समीक्षा प्रस्तुत गरेको थियो । समीक्षाका अनुसार २०२२ सम्ममा नेपालले दिगो विकास लक्ष्यमा करिब ४१ प्रतिशत प्रगति हासिल गरेको छ भने सन् २०३० सम्ममा करिब ६० प्रतिशत प्रगति हासिल गर्ने अनुमान गरिएको छ ।