स्वदेशमै टिक्ने र बिक्ने भए विदेश किन जानु ?


हाम्रो देश नेपाललाई कृषिप्रधान मानिन्छ । यहाँका जनसंख्याको ठूलो भाग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा आश्रित भएकाले नेपाललाई कृषिप्रधान देश भनिएको हो । तर यसो भनिएपनि यस पेशाको भरमा जीवन निर्वाह हुने अवस्था नभएको भन्दै दिनानुदिन देश छोड्नेको सङ्ख्या बढ्दो छ । कृषि पेशामा आश्रित भइरहेका वा कृषि कर्ममै रमाइरहेकाहरु पनि बरु बारी बाँझै रहोस् तर आर्थिक उपार्जनका लागि विदेश जाने गरेका छन् । यहाँ औद्योगिकीकरण र रोजगारीका सम्भावनाहरु नदेखेपछि हाम्रा उर्जाशील युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य बनिरहेका छन् । लाखौं नेपालीहरु अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन् । यसरी देश छाडी विदेश पुगेका कतिपयलाई रोजगारीले उज्यालो भविष्य निर्माण गर्ने अवसर दिएको छ भने कतिपयका लागि यो दुःख, निराशा र शोषण सहन बाध्य बनिरहेका छन् । यसैले त वैदेशिक रोजगारी बसैका लागि अवसर बनिरहेको छ, कसैका लागि अभिशाप ।
नेपालबाट भारत,बेलायत,सिंगापुर लगायतका देशमा सेना र प्रहरी वा अन्य श्रमका लागि युवाहरु जाने गरेका थिए । बैदेशिक रोजगारी भन्दा पनि लाहुर जाने वा मुग्लान जाने भन्दै नेपाली युवाहरु त्यस बेलामा विदेश जाने गरेका थिए । देशको राजनीतिक परिवर्तन भएपछिको सन् १९९० को दशकपछि नेपालबाट धेरै युवाहरू विदेश जान थाले । नेपालीहरु बढी सङ्ख्यामा कतार, साउदी अरेबिया, यूएई, कुवेत,बहराइन जस्ता खाडी मुलुक तथा मलेसियामा रोजगारीका लागि जाने गरेका छन् । यस बाहेक अध्ययनका लागि क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशमा जाने गरेका विद्यार्थीहरु अध्ययन पूरा गरेपछि कानूनी प्रकृया पूरा गरेपछि त्यतै काम गर्ने गरेको पाइन्छ ।
सुन्दर,शान्त र प्रसस्त सम्भावनाले भरिएको देशका रुपमा हामी नेपालको व्याख्या पाउँछौँ । हामी आफैँ पनि विभिन्न क्षेत्र र सम्पदाप्रति गौरवबोध गर्छौँ तर युवालाई टिकाउने खालको विकास भने हुन सकेको छैन । विशेषगरी युवालाई रोजगारीको अवसर प्रदान गर्न सकिने औद्योगिक विकास यहाँ हुनै सकेन । कृषि क्षेत्रमा आधुनिकीकरण गफमा सिमित भयो । देशलाई समृद्घ बनाउने खालका निर्माण क्षेत्रमा ठूला परियोजनाहरू सुस्त गतिमा अघि बढाइए । कुनै बेला नाम कमाएका उद्योगहरु कि त बन्द भए की त उत्पादनमा घाटा लागी बन्ल हुने अवस्थामा निकै कठिन स्थितीबाट चलिरहेका छन् । यहाँ किन उद्योग कलकारखाना चल्न सकेनन् ? यहाँ युवाहरुलाई टिकाउने खालको वातावरण किन निर्माण हुन सकेन भन्ने खालका बहसहरु खासै हुनै छाडेका छन् । सरकारले प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन नगरेका कारण देशमा उद्योग, कलकारखाना तथा ठूला महत्वपूर्ण परियोजनाहरु सञ्चालन नभएका हुन् भन्दा फरक नपर्ला । अर्को महत्वपूर्ण पाटो भनेको हाम्रो देशको शिक्षा प्रणाली हो । हाम्रो देशको शिक्षा प्रणाली यस्तो खालको छ की जसले नेपालमा केही गरौँ, यहाँ श्रममा टिकौँ भन्ने खालकै छैन । आफूले पढेको विषय व्यावहारिक हुन नसक्दा युवाहरु डिग्रीको सर्टिफिकेट थन्काउँदै कठिन श्रमका लागि विदेशिन बाध्य बनिरहेका छन् । घर चलाउनका लागि पनि यतिबेला नेपालीहरु विदेश गइरहेका छन् ।
यहाँ किन उद्योग कलकारखाना चल्न सकेनन् ? यहाँ युवाहरुलाई टिकाउने खालको वातावरण किन निर्माण हुन सकेन भन्ने खालका बहसहरु खासै हुनै छाडेका छन् । सरकारले प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन नगरेका कारण देशमा उद्योग, कलकारखाना तथा ठूला महत्वपूर्ण परियोजनाहरु सञ्चालन नभएका हुन् भन्दा फरक नपर्ला । अर्को महत्वपूर्ण पाटो भनेको हाम्रो देशको शिक्षा प्रणाली हो ।
विदेशबाट प्राप्त रेमिटेन्स नै हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड बनिरहेको छ । हरेक वर्ष अरबौं रुपैयाँ हामीले रेमिटेन्सका रुपमा पाइरहेका छौँ र हाम्रो घर, समाज र समग्रमा देश धानेको छ । नेपालमा बराल्लिएर हिड्ने युवापुस्ता पनि वैदेशिक रोजगारीबाट आर्थिक हैसियत बलियो बनाउँन सफल भएका छन् । ठूलो सङ्ख्यामा नेपाली घरपरिवारको जीवनस्तर उकास्नका लागि वैदेशिक रोजगारीको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा दैनिक छाक टार्न समस्या भएकाहरु पनि वैदेशिक रोजगारीमा पुगेपछि राम्रो कमाईका कारण आर्थिक उपार्जन गर्न सकेका कारण आफ्ना बालबच्चालाई राम्रो शिक्षा दिक्षा दिन, घरघडेरी जोड्न तथा भविष्यका लागि आर्थिक जोहो गर्न सकिरहेका छन् । आर्थिक अवस्था सुधार गर्दै भविष्यका लागि एउटा अवसर वैदेशिक रोजगारीमार्फत सृजना भइरहेको पक्ष पक्कै पनि सकारात्मक विषय हो । देशकै अर्थतन्त्रमा वैदेशिक रोजगारीले टेवा दिएको छ ।
आफ्नो देश छाडेर अर्काको भूमीमा पसिना बगाउनु सुखद् पाटो त होइन नै, तर पनि केही नहुनु भन्दा थोरै भएपनि हुनु वेश भनेझैँ भएको छ । देशबाट ठूलो मात्रामा उर्जाशील र दक्ष श्रमशक्ति पलायन भइरहेको तीतो यथार्थ हामी भोगिरहेका छौँ । कामका लागि विदेशिने भनेको युवाहरु हुन्, जो श्रम बेच्न सक्ने खालका छन् । हाम्रो उर्जाशील शक्ति बाहिरिँदा हामीलाई जनशक्ति अभाव त हुने नै भयो, अरु विभिन्न विषयमा पनि समस्याहरु सिर्जना हुने गरेको हामीले भोग्दै, देख्दै एवम् सुन्दै आइरहेका छौँ । वैदेशिक रोजगारीमा गएका श्रीमान् श्रीमतीबीच विभिन्न कारण मतभेद हुन गई सम्बन्ध टुट्न गएका घटनाहरु पनि हाम्रो गाउँघरमा पाइन्छन्, जसबाट उनीहरुका बालबच्चा संरक्षणविहीन हुने गरेका छन् ।
विदेशबाट आउने रेमिटेन्सले देशको अर्थतन्त्रमा टेवा पुगिरहेको महत्वपूर्ण विषय हामीमाझ भइरहँदा यसको पूर्ण रुपमा उचित प्रयोग घरपरिवारमा नभइ रहेको दुखद् अवस्था पनि छ । वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई अनावश्यक तथा फजुल खर्च गर्ने गरेको हामी पाउँछौँ । भविष्यका लागि जोहो हुने बचतमा राख्नुको सट्टा कतिपयले क्षणिक खुशीमै त्यस्तो रकम उपभोग गर्ने गरेका छन् । यदि उत्पादनशील कार्यमा लगानी गर्ने र त्यसबाट थप आम्दानी गर्ने बाटोमा लागेकोको खण्डमा वैदेशिक रोजगारी एउटा अवसरका रुपमा उदाहरण हुने थियो । यसमा अनावश्यक खर्च कटौती गरी भविष्यका लागि बचत गर्न र आर्थिक आर्जन गर्न सकिने खालका बाटो देखाउने काममा सरोकारवालाहरुले ध्यान दिनुपर्छ ।
अहिले हरेक घरका सदस्य रोजगारीका लागि विदेशमा छन् । ‘नेपालमा रोजगारी छैन, काम गर्न विदेश नै जानुपर्छ’ भन्ने वाक्य उर्जाशील युवाको मुखबाट सुनिन्छ । विदेशमा सहजै र सजिलै काम मिल्ने र राम्रो रुपैया कमाइने भनेर जसरी भनिन्छ यथार्थ भने पक्कै त्यस्तो हुन्न । कतिपय नेपालीहरु श्रम शोषणमा पर्ने गरेका छन् । नेपालीहरु जोखिमयुक्त अवस्थामा काम गर्न बाध्य हुनु परेको पाइन्छ । उचित तलब नपाउने, सम्झौताअनुसार काम नपाउने, श्रम कानूनहरूको पालना नगर्ने र कामदारहरूबाट हिंसा, अमानवीय व्यवहार भोग्नु परेका घटनाहरु हामी बेलाबेला सुन्दै आइरहेका छौँ । वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटनासमेत हुने गरेको पाइन्छ ।
कामका लागि विदेश जानु आफैमा नराम्रो होइन । स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु र उनीहरुलाई देशकै माटोमा श्रम गर्ने वातावरण निर्माण गरिदिनु महत्वपूर्ण विषय हो । यसका लागि सरकारले उचित नीति र कार्यक्रमहरू लागू गर्नुपर्छ, उद्योग तथा कृषि क्षेत्रमा व्यापक सुधार गर्नुपर्छ, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्दै उत्पादनमूलक उद्योगहरू विकास गर्नुपर्छ । परम्परागत रुपमा हामीले गर्दै कृषि कर्मलाई आधुनिकीकरण गर्ने सकेको खण्डमा ग्रामीण क्षेत्रका युवालाई स्वदेशमा गरीखाने वातावरण बन्नसक्छ । व्यवसायिक रुपमा कृषिमा रमाउन खोज्नेलाई प्रविधिमैत्री कृषि प्रणालीको विकासमार्फत पर्याप्त लाभ लिनसक्ने अवस्था बनाइनुपर्छ ।
स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु र उनीहरुलाई देशकै माटोमा श्रम गर्ने वातावरण निर्माण गरिदिनु महत्वपूर्ण विषय हो । यसका लागि सरकारले उचित नीति र कार्यक्रमहरू लागू गर्नुपर्छ, उद्योग तथा कृषि क्षेत्रमा व्यापक सुधार गर्नुपर्छ, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्दै उत्पादनमूलक उद्योगहरू विकास गर्नुपर्छ ।
स्वदेशमै रोजगारीको अवसर दिने भनेर केही साना कार्यक्रमहरु सरकारले नल्याएको होइन, तर त्यस्ता कार्यक्रमहरु थोरै केबल चारो हालेको जस्तो देखिएको छ । युवालाई उचित शीप, शीपपछि स्वरोजगारको वातावरण तयार अनि आर्थिक आम्दानीको प्रष्ट मार्ग देखिने गरी सरकार अघि बढेमा स्वदेशमा युवा टिक्ने र बिक्ने आधार तयार हुन्छ । अन्यथा, दैनिक पन्ध्र सय देखि दुई हजार युवाले देश छाडिरहेको दृश्य देखिनै रहनेछ । हाम्रो देशको शिक्षा प्रणालीलाई श्रम बजारसँग समायोजन गर्नुपर्ने आवश्यक छ । व्यावहारिक शिक्षा, सीपमूलक तालिम तथा प्रविधि अनुकूल पाठ्यक्रम निर्माण गरी लागूू गराउनुपर्छ । यसका साथै विदेशबाट फर्किएकाहरुको सिप तथा सिकाईलाई अन्य युवामा हस्तान्तरण गर्दै देशमै उद्यमशीलताको खोजी गर्ने हातहरु फैलाउन वातावरण तयार पार्नुपर्छ । केही गर्छु भन्नेहरुका लागि सहुलियतपूर्ण कर्जा, अनुदान तथा व्यावसायिक तालिम प्रदान गरिनुपर्छ ।
हामी नेपालीहरुका लागि वैदेशिक रोजगारी अवसरसँगै र चुनौती पनि हो । आर्थिक लाभ भएको सुखद् पक्ष एकातिर छ भने दक्ष जनशक्ति स्वदेशमा नरहनु दुखद् पाटो छ । सरकारले तत्काल यसलाई रोकेर देशमै केही गरीहाल्ने अवस्था पनि छैन । तर विस्तारै यस विषयमा अत्यन्त गम्भीर भएर वैदेशिक रोजगारीको विकल्प के भन्नेमा बहस, छलफल चलाउँदै उचित नीति तथा कार्यक्रम लागू गर्नुपर्छ ।
००००