निराजन बम पक्राउ प्रकरण : कहाँ चुक्यो मकवानपुर प्रहरी ?

तु खबर संवाददाता
२०८१ चैत्र २,आईतवार २०:४४

हेटौँडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले भर्खरै राजनीतिक सहमतिको आधारमा छोडेको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार, ‘राजनीतिक सहमतिको आधारमा उनलाई छाडिएको हो ।’ प्रचण्डको सचिवालय र जिल्लास्थित उनको राजनीतिक दलआवद्ध नेता कार्यकर्ताहरुको अनुरोधमा बमलाई छाडिएको प्रहरीले पुष्टी गरेको छ ।

बम आवद्ध राजनीतिक दलले हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डको फोटो जलाएका थिए ।

खासमा प्रहरीले उनलाई यो मुद्धामा पक्राउ गर्नै सक्दैन । कानून व्यवसायीहरुका अनुसार, गाली बेज्जतीको निवेदन लिएर प्रचण्ड अदालत जानु पर्ने हुन्छ । प्रहरीले यसरी पक्राउ गर्न सक्दैन । अधिवक्ता स्वागत नेपालका अनुसार, प्रचण्डले फिराद लिएर जिल्ला अदालत जानुपर्ने मुद्धामा प्रहरीले शक्तिको आडमा पक्राउ गर्नु कानूनसम्मत हुँदैन ।

‘यदि तस्वीर जलेको कारण आफ्नो गालीबेइज्जती भएको महसुस गर्छ भने सम्बन्धित व्यक्ति नै कानुनी उपचारका लागि अदालत जानुपर्छ,’ ‘राज्यसंयन्त्रको दुरुपयोग गरेर व्यक्तिलाई पक्राउ गर्नु गलत हो, अधिवक्ता नेपालले तु खबरसँग भने ।

त्यस्तै, प्रहरीले त्यसरी पक्राउ गर्नु गल्ती भएको स्वीकार्दै छोड्नु पर्नेमा राजनीतिक सहमतिको आधारमा छोडे भन्नु झनै गैर कानूनी भएको कानून व्यवसायीहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छोडिएको प्रहरीले बताएको छ ।

हेटौँडामा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा हिजो सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।

यसैबीच माओवादीका जिल्ला इन्चार्ज विजय गौतमसमेतको टोलीले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बमलाई छडिदिन आग्रह गरेको थियो ।