चन्द्रागिरी हिल्सद्वारा  दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली

तु खबर संवाददाता
२०८१ चैत्र २,आईतवार २१:१६
तस्बिर : चन्द्रागिरी हिल्स https://www.chandragirihills.com/

हेटौंडा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको मुख्य लगानी रहेको तथा व्यवसायी हेमराज ढकाल अध्यक्ष रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको भेटिएको छ । राजनीतिक र प्रशासनिक पहुँचको आधारमा ढकाल नेतृत्वको हिल्सले पैदलयात्रुसँग असुली गरिरहेको छ ।

चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क असुली भइरहेकोमा चन्द्रागिरी नगरपालिकाले कुनै चासो लिएको छैन ।

सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ । तर, अहिले आम्दानी बढाउन भन्दै चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको छ । सो आधारमा चन्द्रागिरी हिल्सले करिब १० हजार जनासँग रकम उठाइसकेको छ । यसरी रकम उठाउने क्रम विगत तीन महिनादेखि चलिरहेको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रबक्ता कृष्ण प्रसाद खड्गीले चन्द्रागिरी नगरपालिकाले रकम असुली गर्न अनुमति नदिएको बताए ।
उनले चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाइरहेको सूचना आएको स्वीकार गरे ।