चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैरकानूनी : थाहा नगरपालिका

तु खबर संवाददाता
२०८१ चैत्र ३,सोमबार २०:०८

हेटौंडा । थाहा नगरपालिका वडा नं. ९ को कार्यालयले चन्द्रागिरी हिल्सलाई ७ दिनभित्र पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउन बनाइएको पोष्ट हटाउन निर्देशन दिएको छ । भालेश्वर मंदिर दर्शन गर्न जाने कुनै पनि पैदलयात्रीसँग रकम नगठाउन सो कार्यालयले निर्देशन दिएको हो ।

त्यसरी रकम उठाउन पाउने गरी कुनै सम्झौता नभएको स्पष्ट पार्दै चन्द्रागिरी हिल्सको सो कार्य गैर कानुनी भएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ ।

थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राज कुमार बलामीले आज एक सूचना जारी गर्दै थाहा नगरपालिकाको समेत स्वामित्वमा रहेको चन्द्रागिरीको मन्दिर तथा सो क्षेत्रमा यात्रा गर्न चाहने यात्रुसँग रकम उठाउने कार्य तत्काल बन्द गर्न चन्द्रागिरी हिल्सलाई सुचित गरेको छ ।

थाहा नगरपालिकाले जारी गरेको सूचनामा चन्द्रागिरी हिल्सले सार्वजनिक जंगलमा अनाधिकृत रुपमा चेक प्वाईन्ट राखेर सर्वसाधारण पैदलयात्रीसँग रकम उठाउने सम्बन्धी कुनै सहमति नदिइएको स्पष्ट पारेको छ ।

भालेश्वर मंदिरसम्म आवतजावत गर्ने कुनै पनि यात्रुलाई रोकावट नगर्न पनि सो कार्यालयले निर्देशन दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।