अनौपचारिक श्रमिक महिलाहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा । काठमाडौ, चितवन र मकवानपुर जिल्लामा श्रमिक महिलाहरुले बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त मर्हजनलाई अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुले भोग्नु परेको समस्याको विषयमा ध्यानाकर्षण गराइएको छ । विषयगत मन्त्रालयका मन्त्रीलाई त्यस अवसरमा अपिलपत्र समेत हस्तान्तरण गरिएको हो ।
असंगठित क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले आफुले गर्ने कामको आधारमा घर,परिवार,समाजले हेर्ने दृष्टिकोण र कार्यस्थलमा भोग्दै आएका हिंसा शोषण र विभेद, ज्यालामा भएको ठगी , असमान ज्याला जस्ता समस्या भोग्नु परेको अनुभव राखेका थिए ।
महिला श्रमिकहरुको अधिकार सुनिश्चितताको लागि चरणबद्ध कार्यक्रमहरुबाट आएको निष्कर्ष, नीतिगत सिफारिस र श्रमिक महिला इजालासको फैसलाहरुबाट पहिचान भएका सवालगत सिफरिसहरुलाई प्राथमिकिकरण गर्दै असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरु, यस सवालमा कार्यरत संघ,संस्थाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु,महिला मानव अधिकार रक्षकहरु र नागरिक समाजका प्रतिनिधिहरु गरी २५० भन्दा बढि संस्थामा रहेका सहभागीबाट प्रस्तावित ७ बुदे मागहरु तत्काल कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने गरी सो ध्यानाकर्षण पत्र हस्तान्तर गरिएको हो ।
बागमती प्रदेशमा सहजीकरणको निम्ती नेपाल महिला एकता समाजको नेतृत्वमा मकवानपुर महिला उत्थान समाज सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
सो ध्यानकर्षणपत्र बुझ्दै मन्त्री महर्जनले कानून निर्माण गर्न आवश्यक देखिएको बताए । अनौपचारिक क्षेत्रका महिला श्रमिकहरुले भोग्दै आएका समस्या समाधानका लागि आफूले काम गर्ने उनले बताए । उनका अनुसार, श्रम ऐन २०७४ संशोधन हुने प्रकृयामा रहेको छ । यसमा आज प्राप्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख भएका विषयहरु समावेश गर्नेछु, उनले भने ।