छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं / चन्द्रागिरी नगरपालिका – २ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी चोकस्थित सडकमा बेतहनी बजारबाट बाबागाउँतर्फ जाँदै गरेको भे.१ ख १४०७ नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने हरिद्वार गोडियाको छोराहरू ९ वर्षीय विशाल गोडिया र ७ वर्षीय शिव गोडीयाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-१२ कपता भञ्ज्याङस्थित सडकमा लोथर खोलाबाट बोक्राङतर्फ जाँदै गरेको ग.१ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-१२ बोक्राङ बस्ने ३९ वर्षीय रबिन प्रजाको आइतबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, ओमसतिया गाउँपालिका-४ मटेरियास्थित सडकमा लुम्बिनी प्रदेश ०१-००१ ह ०५५० नम्बरको ईरिक्साबाट खसेर ईरिक्सामा सवार सोही ठाउँ बस्ने करण थारूको छोरा ३ वर्षीय सिद्धार्थ थारूको आइतबार दिउँसो मृत्यु भएको छ । ईरिक्साबाट खसेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ईरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, आदर्शकोतवाल गाउँपालिका(५ टेढाकट्टीस्थित सडकमा गौरबाट कोतवालीतर्फ आउँदै गरेको ग.६ प ८९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने ६५ वर्षीया संजोतिया देवीको मृत्यु भएको छ । आइतबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१-००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।