कुलमानको पक्षमा हेटौंडामा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन

तु खबर संवाददाता
२०८१ चैत्र ११,मंगलवार २१:२९

हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा आज हेटौंडामा पनि प्रदर्शन भएको छ । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला पनि जलाएका थिए ।

प्रदर्शनकारीहरुले टुकी बालेर प्रदर्शन गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल मकवानपुरको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा टुकी बालेर सरकारको निर्णयको विरोध जनाएका थिए । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी गर्दै नगरका विभिन्न भागहरुको परिक्रममा गरेका थिए ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । सो निर्णयका विरुद्ध आज देशभरिका विभिन्न ठाउँमा सरकार विरोधी प्रदर्शन भएका छन् ।