कुलमानलाई हटाउनुको कारण नदिँदासम्म संसद चल्न सक्दैन : बस्नेत

तु खबर संवाददाता
२०८१ चैत्र १२,बुधबार १२:२८

काठमाडौँ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको वैठक स्थगित भएको छ । विपक्षी दलहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद बैठक अवरोध गरेका हुन् ।

विपक्षी दलहरुको तर्फबाट प्रतिनिधिसभाका सदस्य शक्ति बस्नेतले कुलमान हटाउनुको कारण प्रधानमन्त्रीले संसदमा नदिँदासम्म वैठक चल्न नसक्ने बताएका हुन् ।

सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै दलहरुले अवरोध गरेका थिए । सभामुखले बारम्बार गरेको अनुरोधलाई विपक्षी दलले नमानेपछि वैठक स्थगित गरिएको हो ।

सरकारले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । सो निर्णयको विरुद्ध माओवादी सहितका दलहरुले प्रदर्शन तिब्र बनाएका छन् । उनीहरुले कुलमानको पुर्नबहाली हुनुपर्ने माग राखेका छन् ।

यस सम्बन्धमा देशभर प्रदर्शन भइरहेको छ । राँके जुलुस प्रदर्शन भइरहेको छ भने सरकार पक्षले प्रतिरोध गरिरहेको छ ।